सोमबार, ११ भदौ २०८०, दोलखा ।केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताएका हुन्।

उनले भने, लगातारको वर्षा भने आजबाट रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ। आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

गए राति कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको र अहिले कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा उल्लेख गरिएको छ।