विहीबार, २१ भदौ २०८०, दोलखा। दोलखामा सेतो पुतलीबाट जनजीवन प्रभावित बनेको छ।
केही दिन यता सदरमुकाम चरिकोट बजार आसपासका क्षेत्रमा फैलिएको सेतो पुतलीले जनजीवन प्रभावित बनाएको हो। भदौ महिना सुरु भएयता सेतो धर्से पुतलीको प्रकोप बढ्दै गएको पाइन्छ। सेतो पुतली सदरमुकाम चरिकोटका सडक बत्ती आसपासमा अत्याधिक देखिएको छ। उज्यालो बत्तीमा बढी आकर्षित हुने सेतो पुतली पर्दा, कपडा झ्याल जताततै देखिएकाले स्थानीय चिन्तित बनेका छन्। जताततै असंख्य मात्रामा सेतो पुतली देखिएपछि यसको संक्रमणबाट हुने जोखिमले स्थानीय हैरान भएका छन्। विशेषगरी सेतो पुतलीको प्रभाव चरिकोट बजारमा देखिएको छ। जिल्ला सदरमुकाम चरिकोटमा पुतलीका कारण मानिसहरु साँझदेखिनै बत्ति निभाएर बस्न थालेका छन् भने पुतली भगाउन राती आगो बाल्ने गरेका छन्।
सेतो पुतलीको कारण आँखामा देखा पर्ने सापु रोगले समयमै अस्पताल नगए आँखाको ज्योती नै गुम्न सक्छ। दोलखामा यसअघि बैतेश्वर गाउँपालिका ६ का एक बालकको सेतो पुतलीको कारणले एउटा आँखाको ज्योती नै गुमेको यथावत नैछ। घरको बार्दलीमा बसेर मोबाईल खेलाई रहेका ती बालकको आँखामा सेतो पुतलीले छोए पछि आँखा वरिपरि डावर निस्कने, आँखा रातो हुने लगायतमा समस्या देखिएको थियो। यद्यपि यसलाई सामान्य रुपमा लिँदा बालक देब्रे आँखा नै नदेख्ने भएका थिए।
दोलखा लायन्स आँखा केन्द्रका ईन्चार्ज बिप्लप खड्काले आँखा पाक्ने सम्बन्धी समस्या लिएर बिरामीहरु आए पनि अहिले सेतो पुतलीको संक्रमणका कारण हुने समस्याहरु भने नदेखिएको बताएका छन्। यद्यपि सेतो पुतलीको कस आँखामा परेपछि लाग्ने सापु रोग निकै खतरनाक रहेकाले यसबाट बच्न उनले सुझाव दिए। यसकोे कस आँखामा परेको शंका लाग्ने बित्तिकै वा आँखामा कुनै असर देखा परेमा तुरुन्त आँखा अस्पतालमा देखाउनु पर्छ। बत्तिको वरीपरी घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले शरीरमा एलर्जि लगायतका समस्या देखिने गरेको छ।
भदौदेखि मंसिर महिनासम्म यो पुतलीको प्रजनन सुरु हुने भएकाले पनि यो वेला सापुका विरामी धेरै देखिने गरेका छन्। आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो। च्छोरोल्पा अस्पतालका डाक्टर बिनोद दंगालले सापु रोग लागेमा आँखा एक्कासी रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको विचमा सेता दाग देखिने, पिप जमे पनि चिप्रा नलाग्ने, आँखा नदेख्ने र दृष्टि कम हुँदै जाने लक्षणहरु देखा पर्ने बताएका थिए।
उनका अनुसार यसबाट बच्नका लागि सेतो पुतलीबाट जोगिने, कोठामा पुतली पस्न नदिने, झ्याल ढोकामा जाली लगाउने, झुल लगाएर सुत्ने, सेतो पुतली सिधै हातले नछुने, हातले छोइहाले सावुन पानीले राम्ररी हात धुने, हात नधोई आँखा छुँदै नछुने, झुक्किएर छोइहालेमा आँखा सफा गरेर तत्काल आँखा अस्पताल जाने गर्नु पर्छ। सेतो पुतलीले छोएपछि ढिलामा दुई दिन भित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन बिज्ञहरुले सुझाव गरेका छन्।
