आइतबार, २४ भदौ २०८०, दोलखा। सर्लाही जिल्लाको मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको मूर्ति विसर्जन यात्रामाथि शुक्रबार भएको आक्रमणको घटना प्रति विश्व हिन्दु परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
परिषद्ले घटनाको भर्त्सना गर्नुका साथै साथै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय समक्ष माग गरेको हो। केही व्यक्तिहरुले एक्कासि भक्तजनहरू माथि घर भित्रबाट अश्लील गाली गलौज सहित, तातोपानी फ्याँक्न तथा ढुङ्गामुढा गर्न थालेपछि स्थानीय भक्तजनहरू गम्भीर घाइते भएको परिषद्ले जनाएको छ।
उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्नुको साटो निर्दोष युवाहरूलाई प्रहरीद्वारा हिरासतमा लिइनुले प्रहरीको कार्यशैली प्रति पनि प्रश्न चिन्ह खडा भएको परिषद्को भनाई छ। पक्राउ गरिएका युवाहरूलाई निस्सर्त रिहा नगरिए कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
यता सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए।
शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो।
दुई पक्षबीच दुढुङ्गा हानाहान झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।