सोमबार, २५ भदौ २०८०, काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ।
सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टचार भेटघाट भएको हो।
भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैँची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताए। नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले आशा व्यक्त गरे।
रासायनिक मलको उपलब्धतामा सहजीकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे।
भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन्। साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने जनाइन्। आगामी दिनमा दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदान प्रदान गर्दै जानु पर्नेमा जोड दिइन्।
