मंगलबार, २६ भदौ २०८०, दोलखा। नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरसहित सात सदस्यीय प्रहरी टोली गणतन्त्र कोरिया प्रस्थान गरेको हो। सुङक्युङ्कवान विश्वविद्यालय कोरियाको आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म सञ्चालन हुने ‘साइबर अपराध काउन्टरमेजरहरूमा रणनीतिक नेतृत्व पाठ्यक्रम’ कार्यशालमा भाग लिन सोमबार साँझ उक्त टोली कोरिया प्रस्थान गरेको हो।
उक्त टोलीमा प्रहरी महानिरीक्षक कुँवरसहित प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक इञ्जिनियर फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकासराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छ।
उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवं क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने र साइबर अपराधविरुद्ध कानुनी ढाँचा, नीतिनिर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया हुने बताइएको छ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
