मलद्धारमा कालो टेपले बेरिएको एक किलो सुन, काभ्रेपलाञ्चोकका तीन युवक प्रहरीको नियन्त्रणमा


कृष्ण बुढाथोकी

बुधबार, २७ भदौ २०८०, काठमाडौँ। एक किलो सुन तस्करी प्रकरणमा काभ्रेपलाञ्चोकका तीन युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका बाबुलाल दोङ, ३३ वर्षीय जगत लामा र सोही जिल्लाको महाभारत गाउँपालिकाका ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तान रहेका छन्। प्रहरीले आज त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाण्डौंको टोलीले भन्सार जाँच पास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो। सुन तस्करी भएको सूचनाका आधारमा अपरेशनमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुबईबाट सुन तस्कर गरेर ल्याउने कार्यमा संलग्न रहेको आरोपमा पहिला बाबुलाल दोङलाई नियन्त्रणमा लिएको थियो।

उनको बयानका आधारमा अनुसन्धान गर्दा अन्य व्यक्तिको पनि संलग्नता खुलेपछि अर्का दुई जना पक्राउ परेका परिसरले जानकारी दिएको छ। आज विहान ९ः२५ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट दोङ नेपाल आएका थिए। उनी काठमाडौँ झर्ने वित्तीकै प्रहरीमा सुन तस्करी भएको सूचना आएपछि प्रहरी टोली ११ बजे पुग्दा उनी विमानस्थलको सडक पेटीमा डुलिरहेका थिए।

शंका लागेपछि प्रहरीले पक्राउ गरेको थियो। भन्सार छलेर अबैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सुचनाका आधारमा तस्कर खोज्न जिल्ला प्रहरी परिसर काठमाडौँको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल पुगेको थियो। सोधपुछ गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको खुलेको छ। मलद्धारमा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन भेटिएको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय पठाइएको परिसरका प्रहरी नायब उपरीक्षक अनिल अधिकरीले बताए। उनीहरुको साथबाट करिब एक किलो सुन ९६० ग्राम बरामद गरिएको छ।

सम्बन्धित खबर