सोमबार, ०१ असोज २०८०, दोलखा। सिन्धुलीमा मोटरसाइकल र अटो एक आपसमा ठोक्किँदा एक महिने शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

सो दुर्घटना हुँदा दुधौली नगरपालिका–३ की रविना धामीको एक महिने छोराको मृत्यु भएको हो। यस्तै घाइते हुनेमा अटोमा सवार एकै परिवारका चार जना रहेका छन्। जसमा ८० वर्षीय रामकिश्वर धामी, उनकी श्रीमती ७० वर्षीया फुलो धामी उनकै बुहारी ३५ वर्षीया रविना धामी र रविनाकी छोरी ४ वर्षीया आश्मिना धामी रहेका छन्। यसैगरी दुधौली नगरपालिका १ का मोटरसाइकल चालक ४५ वर्षीय फणिन्द्र बहादुर श्रेष्ठ, मोटरसाइकलमा सवार ७० वर्षीय उनका बुबा लाल बहादुर श्रेष्ठ पनि घाइते भएका छन्।

डकाहाबाट भिमान जाँदै गरेको ९ प ३४८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २–०२–००१ ह १८२८ नम्बरको अटो दुधौली नगरपालिका–१ मदन भण्डारी सडक खण्डमा आपसमा ठोक्किएको थियो। सो दुर्घटनामा परी घाइते भएकाहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए। उनका अनुसार अटो चालक भने फरार रहेकाले उनको खोजीकार्य भइरहेको छ।