मंगलबार, ०२ असोज २०८०, दोलखा। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दै।
विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भई रहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक डाकेका हुन्। बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाएका छन्।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। वैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ। गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापाको पक्षमा खुलेका थिए।
