बुधबार, ०३ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गरे।
संविधान दिवसको अवसरमा बुधबार शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुप्रति शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले सन्देशमा भनेः यतिबेला हामी सबै संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा छौं। सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको छ।
त्यसैगरी प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता भएको शन्देशमा उल्लेख गरे।