शनिबार, ०६ असोज २०८०, दोलखा। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन लगायत नउडाउन आग्रह गरेको छ।
विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिएका थिए।
चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ। यसैगरी प्राधिकरण आग्रहलाई अटेर गरी यस्ता काम गरेमा कानुन अनुसार कडा कारबाही गरिने प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले बताए।