विहीबार, ११ असोज २०८०, दोलखा। नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ।
प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ। प्रदेशको नेतृत्वका आकांक्षीहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
अध्यक्ष पदको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा रामेछापका कैलाशप्रसाद ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापका केशरबहादुर बुढाथोकी र नुवाकोटका केशव पाण्डेले उम्मेदवारी दर्ता गराए।
यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराए। त्यस्तै उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ।
कुल ५ जना पदाधिकारीको लागि २६ जनाको उम्मेदवारी परेको छ। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय कार्यसमिति चयन गर्नेछ।
