डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ। रातको समयमा भने यसको खासै जोखिम हुँदैन।
अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ। यद्यपि यसले टोक्नसाथ डेंगु लाग्छ भन्ने होइन। संक्रमित लामखुट्टेले टोक्यो भने मात्र डेंगु लाग्नसक्छ।
कसरी थाहा हुन्छ?
संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउँछ। टाउको दुख्छ। वान्ता हुने, चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने, शरीर गलेको महसुष हुनेगर्छ।
भुक्तभोगीहरुका अनुसार डेंगु निकै पीडादायक हुन्छ। डेंगु संक्रमित भएर उपचारका लागि दौडधूप गर्नुभन्दा यसको टोकाइबाट बच्नु सर्वोत्तम हो।
१. यो लामखुट्टे बस्न र फैलन नदिने
आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाई गरेमा यो लामखुट्टे फैलन पाउँदैन। खासगरी पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्ने ताकि, त्यहाँ यो लामुखट्टे छिर्न नसकोस्।
पानी जम्ने खाल्डाखुल्डी पुर्ने। घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जमेर यो लामखुट्टेले आफ्नो वासस्थान बनाउन सक्छ। त्यसैले त्यस्ता बस्तुहरुमा पानी जम्न नदिने।
अध्याँरो कुना, पर्दा पछाडि, खाटको मुनी, शौचालय भित्र किटनाशक औषधि छर्कन सकिन्छ।
फुलदानी वा त्यसमा जम्ने पानीमा पनि यो लामखुट्टे बस्न सक्छ । त्यसैले पानी जम्ने वा ओसिलो सरसामन सफा राख्ने।
२. पुरा शरीर ढाक्ने लुगा लगाउने
यो लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले कुनैपनि बेला यसले टोक्न सक्छ। त्यसैले संभव भएसम्म पुरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । गर्मीमा हामी प्राय शरीर खुला राख्ने गर्छौं। यसले गर्दा लामखुट्टेलाई टोक्न सहज हुन्छ। बरु, पातलो वा हल्का लुगा भएपनि शरीर ढाक्नेगरी लगाउनुपर्छ। यसले लामखुट्टेको टोकाईबाट बचाउँछ।
३. लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग
दिउसोको समय घर वा कार्यलयमा बसेर काम गर्नुपर्ने अवस्था छ भने लामखुट्टे भगाउने धुप वा लिक्विड प्रयोग गर्न सकिन्छ। यसले केही हदसम्म यसको जोखिमबाट बचाउँछ।
४. क्रिमको प्रयोग
दिउसोको समयमा घरमा बस्दा, काम गर्दा वा कतै जाँदा ओडोमस नामक क्रिम लगाउन सकिन्छ, खासगरी लुगाले नछोपिएको भागहरुमा। यसले लामखुट्टेको टोकाईबाट केही हदसम्म बचाउँछ।
५. झ्याल ढोकामा जाली
घर, कार्यलय वा कुनैपनि भवनको झ्याल ढोकामा राम्ररी जाली लगाइएको छ भने लामखुट्टे भित्र छिर्न पाउँदैन।
यद्यपि यी सबै अस्थायी उपायहरु हुन् र तर आजभोली एडिस लामखुट्टे नियन्त्रण गर्न हाल उपलब्ध सामग्रीहरू लामखुट्टे भगाउन प्रभावकारी नभएको हो कि भन्ने देखाउँछ। तसर्थ स्थायी रुपमा डेंगुबाट बच्न लामखुट्टेको लार्भा वा प्युपा समयमा नै खोजेर नष्ट गर्नु नै प्रभागकारी हुन्छ। यसलाई नष्ट गर्न सकेमा सहज नियन्त्रण गर्न सकिन्छ। नभए महामारी रुप लिन सक्नेछ।
अनलाइनखबरबाट साभार