प्रधानमन्त्रीकाे भ्रमण सोचेभन्दा राम्रो, दुई देश बिचमा भएका सम्झौता कार्यान्वयन गर्न चुनौतीपूर्ण


कृष्ण बुढाथोकी

आइतबार, १४ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीन भ्रमणबाट स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण सोचेको भन्दा पनि राम्रो भएको दाबी गरेका छन्।

भ्रमणमा भएका भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको प्रधानमन्त्री दाहालको दाबी छ। दुई देश बिचमा भएका सम्झौता तथा सहमती महत्वपूर्ण रहे पनि कार्यान्वयनको विषय भने चुनौतीपूर्ण मानिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी गरे। भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै दाहालले विगतमा दुई देशबीच भएका सम्झौता अब कार्यान्वयन हुने बताएका छन्। प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताए।

दहालको चीन भ्रमणका क्रममा चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ। यस्तै, नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरण सम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र आदान प्रदान भएको छ। डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ। यस्तै, हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ। कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने सहमति भएको छ।

यसैगरी, सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्य समूह गठन गर्ने विषयमा पनि सहमति गरिएको छ। यस्तै, नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यात सम्बन्धी प्रोटोकलमा सहमति भएको छ। प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। यसैगरि, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा पनि सहमति भएको छ। यद्यपि प्रधानमन्त्री दहालको भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनलाई भने चुनौतीको रुपमा लिइएको उद्योग वाणिज्य तथा आपूर्तिका पूर्व सचिव पुरुषोत्तम ओझा बताउछन्।

पक्कै पनि प्रधानमन्त्री दाहालको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा विश्वासको वातावरण फर्काउन भने महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ। अबका दिनहरुमा नेपाल चीनको सम्बन्धलाई बलियो बनाउन सम्झौता भएका योजनाहरुलाई कार्यान्वयनको बाटो तर्फ लैजान जरुरी छ।

सम्बन्धित खबर