पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे प्रधानमन्त्री प्रचण्डले संसद्लाई जानकारी गराए


कृष्ण बुढाथोकी

आइतबार, १४ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे संसद्लाई जानकारी गराएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गर्ने निर्णय भएको जानकारी गराए।

यस्तै वर्तमान चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि मूल्य वृद्धि फिर्ता गर्न आफूले नेपाल आयल निगमलाई निर्देशन दिएको बताए।

प्रधानमन्त्री प्रचण्डले आयल निगमले मूल्यवृद्धि गर्दै गरेको कुरा आफ्नो जानकारीमा नभएको र प्रधानमन्त्री या सम्बन्धित मन्त्रालयको निर्णयभन्दा पनि केही महिना पहिला आयल निगमले ऋण तिर्दै बिस्तारै नाफातिर गइरहेको अवस्थामा अटोमेसनमा मूल्य बढाएको तर जनताको भावना विपरीत रहेको बताए। अहिलेको परिस्थितिमा मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर निर्णय लिएको र त्यही अनुसार निगमले मूल्यवृद्धि फिर्ता लिएको बताए।

सम्बन्धित खबर