सोमबार, १५ असोज २०८०, दोलखा। सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा सोमबार मतगणना हुने भएको छ।

आइतबार राती ९ बजे सम्पन्न मतदानको मतगणना सोमबार बिहान ८ बजेबाट गर्ने तयारी भएको निर्वाचन कमिटीले जनाएको छ। कुल ६ सय १६ जना प्रतिनिधिहरु रहेको उक्त अधिवेशनमा ७ जना अनुपस्थित रहेका थिए।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटका प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा छन्। शाही गोरख बोगटी समूह, शाह यामलाल कँडेल समूह र रोकाया स्वतन्त्र उम्मेदवार हुन्।

यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा मुगुका दानिसंह परियार, जुम्लाका टेकराज पछाई र जाजरकोटका लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही प्रतिस्पर्धामा छन्।

एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ।