बुधबार, १७ असोज २०८०, दोलखा। रामेछापमा ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा पक्राउ परेका एकजनालाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ।

ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा मन्थली नगरपालिका–१ सापमारेका २० वर्षीय प्रदिप भुजेललाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरिएको हो। प्रदीप भुजेल र रमेश भुजेलले चोरी गरेको ट्रयाक्टरको पार्टपुर्जाहरु कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रदीपलार्ई प्रहरीले नियन्त्रणमा लिएको थियो भने रमेश फरार रहेका छन्।

फरार रहेका उनको खोजीकार्य भइरहेको रामेछाप प्रहरीले जनाएको छ। प्रदिप र रमेश भुजेलले असोज १५ गते मन्थली बजारमा रहेको आर के वर्कसपबाट ट्रयाक्टरको विभिन्न पार्टपुर्जा चोरी गरेका थिए।

जसमा उनीहरुले ट्रयाक्टरको हाईड्रोलिकमा प्रयोग हुने डिस्टीब्युटर २ थान, गियर सापट ५ दाँते ३ थान, काउन्टर गियर १ थान, गियर बक्स हन्डी ३ थान, फोरहुईल सपोट १ थान, फोरहुईल ढिका १ थान र पत्ता १ थान सहित ट्रयाक्टरका पार्ट पुर्जाहरु चोरी गरेका थिए। पक्राउ परेका प्रदिपलाई भने चोरी कसुरमा सम्मानित जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हो।