बुधबार, १७ असोज २०८०, दोलखा। नेपालमा आज बुधबारदेखि चट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँने भएको छ। ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाल लगायत विभिन्न देशका विज्ञ सहित झण्डै एक सय जनाको सहभागिता रहने जानकारी प्राप्त भएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्रा.डा.श्रीराम शर्माले जानकारी दिए। उनका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान लगायत देशबाट विज्ञको सहभागिता रहने छ। यही असोज १९ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नु पर्ने विषयका बारेमा छलफल हुने बताइएको छ।
मुख्य गरी उक्त सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् प्रा डा शर्माले जानकारी दिए। उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन् । नेपाल चट्याङको उच्च जोखिम मुलकुमा पर्छ। अनुसन्धान भएका मुलुकमध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्रा.डा.शर्माले बताए। औषतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेका छन्।