३२ जेष्ठ २०८०, विहिबार,
दोलखा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् । लामो समयदेखि चीनमा उपचार गराएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भए पछि नेपाल फर्कन लागेका हुन् । पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिए पछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए ।
उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ती सहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौँ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
पुनले गत चैत्र ७ गते टेलिफोन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक राजनीतिबारे संवाद गरेका थिए ।
स्वास्थ्यमा समस्या देखिए पछि आफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरे लगत्तै उनी काठमाडौँमा आएर आराम गरिरहेका थिए ।
माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो ।
जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंकक तर्फ लागेका थिए। बैंककमा उपचार सफल नभए पछि त्यस यता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ ।
नेपालमा हुँदा नेता पुनको उपचार सुमेरु अस्पतालमा डा. युवराज शर्माले गरेका थिए ।
