विहीबार, १८ असोज २०८०, दोलखा। दोलखा सुन प्रकरणमा प्रहरीले काठमाडौंको स्वयम्भुवाट तिव्वतीयन नागरिकलाई पक्राउ गरेको छ। यो सँगै दोलखा सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।
चीनको तिव्वत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुषन्धान व्युरो सिआईबीका अनुसार तासी दावाको निर्देशनमा लामावगरको फलाक नाका हुँदै सुन तस्करी भएको थियो। स्वयम्भुमा बस्दै आएका दावाले सुन तस्करीको निर्देशन दिएको भनिए पनि उनी सुन मालिक हुन् या होईनन् भन्ने यकिन हुन सकेको छैन। यसअघि पनि चीनको सिचुवान प्रान्तका एक चीनियाँ नागरिक र ९ जना नेपाली सुन प्रकरणमा पक्राउ परिसकेका छन्।
अवैध सुन ओसारपसारमा ११ जना पक्राउ परिसके पनि प्रहरीले तस्करीको मुख्य नाइकेको अझै पहिचान गर्न सकेको छैन। यो प्रकरणमा यसअघि पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन्।
लामावगरको फलाक नाका हुँदै ल्याएको ११ किलो अवैध सुन दोलखा प्रहरी र सिआइवीको टोलीले ५ दिनको अवधिमा तीन चरणमा गरेर बरामद गरेको थियो। दोलखाको सिंगटी बजार नजिकैको जामुनेवाट ७ किलो र लामावगरवाट ४ किलो सुन बरामद भएको थियो।
