आईतवार १३ श्रावण २०८१, सिन्धुपाल्चोक। पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागले उत्तरी सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो २४ घण्टामा १ सय ४१ दशमलव ४ मिलिमिटर वर्षा भएको जनाएको हो। विभागका अनुसार ढुंगेमा १ सय २० दशमलव ८, तारामाराङमा ८२ दशमलव ८ र बोल्देमा ७५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। यसैगरी जिल्लाको घुम्थाङमा ९३ दशमलव ३ मिलिमिटर वर्षा भएको विभागको भनाई छ।
यसैबीच, आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने जानकारी प्राप्त भएको छ। महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ। साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ।
