मङगलबार, २९ श्रावण २०८१, हेटौँडा। बागमती प्रदेशका सवारी कार्यालयहरुमा तीन दिनदेखि सेवा ठप्प भएको छ।

बागमती प्रदेशको भेहिकल रजिस्ट्रेसन सिस्टम बीपी–भीआरएस प्रणालीमा समस्या देखिएपछि प्रदेश भित्रका सवारी कार्यालयहरुको सेवा ठप्प भएको हो। बुधबार र विहिबार सर्भर डाउन भएको भन्दै केही सेवा प्रभावित भएको कार्यालयहरुमा शुक्रबार, आईतबार र सोमबार भने सबै सेवा ठप्प भएको छ। सोमबार दिउँसोबाट अनलाईन प्रणाली सञ्चालनमा आए पनि अझै पूर्ण रुपमा सर्भर नचलेको कर्मचारीहरुले बताएका छन्। बीपी–भीआरएस प्रणालीमा समस्या देखिएपछि अनलाईन प्रणाली प्रयोग गरेर हुने सबै सेवा बन्द भएको हो।

बागमती प्रदेश भित्रका साना ठुला सवारी कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल गर्जुधारा काठमाडौँ, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुर र सानो भ¥याङ काठमाडौँबाट दिईने सेवा अवरुद्ध भएको छ। यस्तै, यातायात व्यवस्था सेवा कार्यालय काभ्रे, खुर्कोट, सिन्धुली र हेटौँडाबाट दिईने सवारी सेवा पनि ठप्प भएको छ।

जसअनुसार सवारी कर तिर्न गएका सेवाग्राही सबैभन्दा बढि मर्कामा परेका छन्। यस्तै, सवारी दर्ता, नामसारी, रुट ईजाजत, पटके ईजाजत लगाएतका सेवा पनि प्रभावित भएको छ। सरकारी प्रणाली अवरुद्ध भएकाले पट्के ईजाजत समेत जारी नहुँदा सार्वजनिक सवारीले रिजर्भका लागि ईजाजत लिन पाएका छैनन्।