सोमबार, १७ भदौ २०८१, काठमाडौँ। बुवाको मुख हेर्ने दिन सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ।
उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्ने छन्। कतिपयले ब्राह्मणलाई भोजन गराउने गर्छन्।
गोकर्णमा बिहानै देखि श्राद्ध गर्नेहरूको भिड छ। श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी/सुन्दरीजल रूटको सवारी आवागमन समेत प्रभावित भएको छ।
उक्त सडक आज पूर्णरूपमा बन्द गरिएको छ। गोकर्णेश्वर क्षेत्रको विशेष मेला भएकाले त्यसभेगका विद्यालय, संघ-संस्था आजको दिन बिदा दिइएको छ।
आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख-समृद्धिको कामना सहित आर्शीवाद दिने गर्छन्।
छोरा छोरीले आफ्ना पितालाई मीठा/मीठा परिकार खुवाइ खुसी तुल्याएमा सन्तानलाई सुख शान्ति मिल्ने जन विश्वास छ।