सोमबार, १७ भदौ २०८१,

हजारौं यात्रामा, आज बुबाको मुख हेर्ने दिन हो,
तर हाम्रा लागि त, दैनिक नै हुने गर्छ यो।
उठ्ने बित्तिकै अनुहारमा, स्नेहको आभा देखिन्छ,
बुबाको मायाले हरेक पल, मनमा विश्वास लेखिन्छ।

बुबाको छायाँ हरेक क्षणमा, जीन्दगीको आधार हो।
मुस्कानमा लुकेको पीडा, बुबाको माया अपार हो।

सधैंको त्यो संघर्ष, जसलाई शब्दमा भन्न गाह्रो,
मिहिनेत र पसिनाले बुनिएको, बुबाको सपना साँचो।
आफ्ना इच्छा दबाएर, परिवारलाई अघि बढाउँछन्,
हजारौं यात्राको कष्टमा, हरेक दिन साथ निभाउँछन्।

कहिल्यै थाक्दैनन्, बुबाको साथले भरिएको मन
दैनिक नै तिम्रो सम्मान हो, हरेक दिन बुबाको दर्शन।

आज बुबाको मुख हेर्ने दिन, तर तिम्रै मुख हेरेर
हामीले बुझ्छौं जिन्दगी, सधैं बाँच्नको रहर गरेर।
हाम्रो सफलता तिमीलाई, जीवन भरि सुम्पिनेछ,
बुबाको माया र सम्मानले, कहिल्यै झुक्न नसकिनेछ।

तपाईले देखाएको बाटो, हामी हिँड्दै जानेछौं।
बुबाको मुख हेर्ने दिन त, हाम्रो हरेक साँझ र विहान हो।

दैनिक जीवनको हरेक क्षण, बुबा तिमीलाई सम्झन्छौं,
त्यसैले त आज मात्र होइन, हरेक दिन तिमीलाई पुज्दछौं।
आशीर्वाद तिम्रो सँगै छ, हरेक पाइला अगाडि बढ्छ,
बुबा, तिमी हाम्रो प्रेरणा, जिन्दगी भरि साथमा सधैं राख्छौँ।

तपाईले दिएका शिक्षा, सधैं साथमा राख्नेछौं।
बुबाको मुख हेर्ने दिन, हामी कहिल्यै छुटाउँदैनौं,
तपाईको मायाको उज्यालोमा, सधैं अगाडि बढिरहनेछौं।

  • लेखक: कृष्ण बहादुर बुढाथोकी (मेलुङ गाउँपालिका-१, पवटी, दोलखा)
  • लेखकको संक्षिप्त परिचय:
    अध्यक्ष: परिवर्तनशिल युवा समाज नेपाल (दोलखा) / युवा सहभागिता तथा सामाजिक अनुसन्धान केन्द्र (काठमाडौँ) / अमरावती कृषि सहकारी लि. (दोलखा)
  • व्यवस्थापन: म्यानेजर – मर्सी एजुकेशन (काठमाडौँ) / CEO – एक्सीलेन्ट ग्रुप (काठमाडौँ)
  • कानुनी क्षेत्र: कानुनी सल्लाहकार – एल.एल.बी ल. फर्म