
काठमाडौं, मंसिर १
पछिल्लो समय नेपालमा कफी कल्चर बढ्दै गएको छ । घर, कार्यालय, भेटघाट जुनसुकै ठाउँमा पनि कफी धेरैको रोजाइमा पर्दै गएको छ ।
फलस्वरूप कफीको माग तीव्र रुपमा बढिरहेको छ । तर, उत्पादन भने मागअनुसार नबढ्दा पछिल्ला वर्षहरूमा आयात लगातार बढिरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ६४२ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ ।
सोही वर्ष २३० मेट्रिक टन कफी आयात हुँदा १४ करोड ४१ लाख रुपैयाँ खर्चिएको छ । उता ६४ मेट्रिक टन मात्र निर्यात भई ११ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ ।
स्पेसियालिटी कफीका रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउँदै आएको नेपाली कफीले गुणस्तरका आधारमा उच्च मूल्य पाइरहे पनि उत्पादन विस्तारमा आवश्यक ध्यान नपुग्दा स्वदेशमै माग धान्न कठिन भइरहेको बोर्डको निष्कर्ष छ ।
बोर्डले कफी खेतीलाई व्यवसायिक बनाउन कफी स्टेट विकास, संभावित क्षेत्रको चक्लाबन्दी गरी कफी बगान विस्तार, व्यवसायिक नर्सरी उत्पादन, डेमोन्स्ट्रेसन प्लट, अनुसन्धान तथा उन्नत प्रविधि विकासलाई प्राथमिकतामा राखेको छ ।
यसैगरी तीनै तहका सरकारबीच सहकार्य गर्दै उत्पादन, प्रसोधन उद्योग स्थापना, बजार व्यवस्थापन र गुणस्तर सुधार का कार्यक्रम अघि बढाइने बोर्डले जनाएको छ ।
७५ औँ बोर्ड बैठकको निर्णयअनुसार कफी मूल्य शृंखलामा संलग्न सबै पक्षको भूमिका स्पष्ट हुने गरी ऐन तथा नीतिमा आवश्यक संशोधन प्रक्रिया सुरु गरिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार कफी खेतीमा युवा आकर्षण बढाउने, लगानीकर्तालाई व्यवसायिक फार्म स्थापना गर्न प्रोत्साहित गर्ने र आगामी वर्षदेखि युवा लक्षित स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ ।
