काठमाडौं, वैशाख १०

काठमाडौं उपत्यकाको वायु प्रदूषण पुनः चिन्ताजनक तहमा पुगेको छ । केही दिनअघिको वर्षाले सामान्य सुधार ल्याए पनि बुधबार बिहान वायु गुणस्तर सूचकांक (एक्युआई) बढेर २४७ पुगेको छ, जसलाई ‘धेरै अस्वस्थ’ मानिन्छ ।

वातावरण विभागका अनुसार लामो समयदेखि वर्षा नहुनु, बढ्दो सुक्खा र विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायुमण्डलमा धुलो र धुवाँ थुप्रिएको हो ।

मौसमविद्हरूका अनुसार आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नभएकाले प्रदूषण अझै बढ्न सक्ने देखिएको छ । एक्युआई २०१ देखि ३०० सम्म पुग्नुलाई स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिन्छ ।

प्रदूषण बढेसँगै स्वास्थ्यविज्ञहरूले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्य मास्क प्रयोग गर्न सरकारले सर्वसाधारणलाई सुझाएको छ ।