
बहु प्रतीभाका धनी तामाङद्वारा बनेली फाडेर बनाइयो लाखौं आम्दानी गर्ने एग्रो टुरिजम् रिसोर्ट
यतिबेला अल्लारे केटाहरूका लागि अभिभावकले उदाहरण दिने व्यक्ति समेत उहाँ बन्न थाल्नु भएको छ । कतिपय, अभिभावकले हिजोआज आफ्ना बिग्रन लागेको छोराहरूलाई सम्झाउने क्रममा ‘छोरो हुनु त राम तामाङ जस्तो !’ भन्न थालेका छन् ।
उहाँले भन्नुभयो, ‘गत सिजनमा ड्रागन दुईसय केजी उत्पादन भयो भने धान सात मुरी फलेको थियो ।’ त्यस्तै सो स्थानमा उत्पादन भएको तरकारीबाट करिब एक लाख रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो








फेदीकुना, सुन्दरबजार(लमजुङ)– लमजुङका बहु प्रतीभाका धनी एक व्यक्तिले बनेली फाडेर लाखौं आम्दानी गर्ने एग्रो टुरिजमको रिसोर्ट बनाउनु भएको छ । उहाँले छ वर्षअघि सुरु गरेको अभियानले परिणाम देखाउन थालेको छ । त्यस्ता पौरखी व्यक्ति हुनुहुन्छ– लमजुङको सुन्दरबजार नगरपालिका– ९ फेदीकुना गाउँ निवासी राम तामाङ ।
इच्छा शक्ति, दुरदृष्टि (भिजन) र योजनाद्वारा उपमा :
इच्छा शक्ति, दुरदृष्टि (भिजन) अनि योजना भयो भने उदाहरणीय कार्य गर्न सकिन्छ भन्ने उपमा बन्न सफल बन्नु भएको छ राम तामाङ लमजुङमा यतिबेला । भारतीय सेनामा दुई दशक बिताएर निवृत्त जीवनपछि गाउँमा फर्केर सामाजिक कामका साथमा एग्रो टुरिजमको अवधारणा विकास गरी यतिबेला नमूना योग्य काममा उहाँ जुटिरहनु भएको छ । उहाँले जीवनमा पढेर ज्ञान आर्जन गरेर अनि अप्ठेरो साँघुरो एक प्रकार आगोको भुङ्ग्रोमा परेर खारिदै अनुभव हासिल गर्दै आफ्नै गाउँ फर्किएर उदाहरणीय कामको थालनी गर्नु भएको हो । परिणाम स्वरुप उहाँ उपमा हुनुभएको छ ।
छोरा हुनु त राम तामाङ जस्तो :
यतिबेला अल्लारे केटाहरूका लागि अभिभावकले उदाहरण दिने व्यक्ति समेत उहाँ बन्न थाल्नु भएको छ । कतिपय, अभिभावकले हिजोआज आफ्ना बिग्रन लागेको छोराहरूलाई सम्झाउने क्रममा ‘छोरो हुनु त राम तामाङ जस्तो !’ भन्न थालेका छन् ।
१९ वर्षे किशोरकालमै भारतीय सेनामा प्रवेश :
१९ वर्षको किशोरकालीन उमेरमै रोजगारीका लागि भारतीय सेनामा प्रवेश गर्नु भएका तामाङले भारतीय सेनामा करिब २० वर्ष सेवा गरेर पेन्सनसहित गाउँ फर्किनु भएको हो । राम्रो, नराम्रो, उचनीच बुझ्ने हुन थालेदेखिनै समाजका लागि केही गर्नु पर्छ भन्ने हुटहुटी पाल्नु भएको उहाँले त्यसपछि मिल्किएको बाँझो जमिनलाई उत्पादनशील बनाउँदै अर्गानिक फार्म स्टे सञ्चालनमा ल्याएको बताउनु हुन्छ । उहाँका अनुसार भारतीय सेनाबाट फर्कदा समाजका लागि केही गर्नुपर्ने सोच बनाएर पेन्सनमा आएको थिएँ । त्यतिमात्र हैन उहाँले पेन्सनमा आएँ पनि अधुरो रहेको उच्च शिक्षा आर्जन गेर्न सोखसमेत पुरा गर्नु भयो ।
त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा समाजशास्त्र स्नातकोत्तर डिग्रीबाट दीक्षित हुनुभएका उहाँले गर्वका साथ भन्नुभयो, ‘पेन्सनमा आएपछि कानुनमा एल.एल.वि गरेँ, राजनीतिक शास्त्रमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर शिक्षासमेत आर्जन गरेँ ।’ त्यतिमात्र हैन समाजशास्त्रमा मास्टर गर्नु भएका तामाङले अधिवक्ताको ३४ औं व्याजमा नाम निकाल्न समेत सफल भएको समेत जानकारी दिनुभयो । ‘मलाई आफ्नो पेन्सन र वकालत पेशा गर्ने हो भने शहर बजारमै आरामको जीवन यापन गर्न पुग्छ तर मैले म मात्र बनेर हुन्न भन्ने सोचले गाउँमा बसेर यो सब काम गरिरहेको छु’ उहाँले थप जानकारी दिनुभयो ।
‘सुन्दरबजार अर्गानिक रिसोर्ट’ नमूना कृषि पर्यटन :
समाजका लागि केही गर्नु पर्छ भन्ने हुटहुटीले गर्दा नमूना कृषि पर्यटनका क्षेत्रमा काम गर्ने उद्देश्यले उहाँले फेदीकुना गाउँको भित्री भागमा रहेको भिरालो बनेलीको १२ रोपनी जग्गा किन्नुभयो । त्यो स्थानलाई सम्याएर गह्रामा परिणत गर्नुभयो । सडक सञ्जालसँग जोड्ने प्रयास गर्नुभयो र जोड्नु भयो पनि । सुन्दरबजार जस्तो व्यापारिक तथा शैक्षिक केन्द्रमा अर्गानिक खानपानको अभाव देखेपछि तामाङले आफ्नै जमिनमा अर्गानिक खेती सञ्चालन गर्ने योजना बनाई काम गरेको उहाँको कथन छ ।
त्यसपछि उहाँले त्यो स्थानमा दर्ता गरेर बनाउनु भयो ‘अर्गानिक रिसोर्ट ।’ जसको आफै प्रोपाइटर हुनुभयो । त्यो आज ‘सुन्दरबजार अर्गानिक रिसोर्ट’का नाममा परिचित छ । अर्गानिक रिसोर्टका साथमा ड्रागन, तरकारी खेतीका साथै बर्षा याममा धान समेत फलाउने काम गरेको सुन्दरबजार अर्गानिक रिसोर्टका प्रोपाटर राम तामाङले बताउनु हुन्छ । तामाङ भन्नुहुन्छ, ‘विदेशमा परिवारसँग विछोडिएर, पिरोलिएर बस्न भन्दा गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेको हुँ ।’ अहिले उक्त स्थान ‘राम तामाङको फार्म स्टे’का रूपमा परिचित बन्दै गएको छ । जहाँ स्थानीय अर्गानिक खाना तथा फलफूल उपलब्ध छन् । उहाँको रिसोर्टमा यतिबेला टाढा टाढाका मानिसहरूसमेत रात बिताउन पनि आउन थालेको उहाँले जानकारी दिनुभयो । रिसोर्टको रात्रीकालीन क्षमता आठदेखि १० जना रहेको छ । खाना, नास्ता र कोठाको प्रतिव्यक्ति एक हजार दुईसय रहेको जानकारी दिए ।
त्यतिबेला उक्त स्थानमा न सडक थियो, न त बिजुली । छ वर्ष अघि त्यो स्थान राम तामाङले काम गरेको देख्नेहरू कतिले उहाँलाई बौलायो पनि भने । तामाङले आफ्नै पहल र नेतृत्वमा सडक निर्माण गर्नुभयो, त्यसपछि बिजुली समेत जोड्ने काम गर्नुभयो । उहाँको फार्मका सबै उत्पादन अर्गानिक हुन् । सुन्दरबजार अर्गानिक रिसोर्टको निर्माणका साथ तरकारी खेतीको काममा आफू जुटेको उहाँले सुनाउनुभयो । क्रमशः उक्त स्थानलाई हराभरा बनाउँदै उहाँले अर्गानिक उत्पादनमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘गत सिजनमा ड्रागन दुईसय केजी उत्पादन भयो भने धान सात मुरी फलेको थियो ।’
उद्यमीको पहिचान :
त्यस्तै सो स्थानमा उत्पादन भएको तरकारीबाट करिब एक लाख रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । उद्यमशीलतामा समेत विशेष रुचि राख्ने तामाङले सुन्दरबजार नगरपालिका– ८ को भोटेओडारमा यसअघि ब्लक उद्योग समेत करिब छ वर्षसम्म सञ्चालन गरेको जानकारी दिनुभयो । त्यही उद्योग नजिक उहाँले आफ्नै पहलमा सञ्चालित सक्षम कृषि तथा पशु फार्म समेत थियो । त्यतिका काम गर्दा पनि कतैतिरबाट पनि साथ, सहयोग, प्रोत्साहन तथा अनुदान आदि केही पाउन नसकेको उहाँको दुःखेसो छ । त्यसपछि कता कता निरासपन पनि आउन थाल्यो, त्यही भएर ब्लक उद्योग र सक्षम कृषि तथा पशु फार्म छ महिना अघि मात्र विक्री गरेँ उहाँले सुनाउनु भयो । उहाँ भन्नु हुन्छ, ‘विकासका काम गर्नका लागि राजनीतिक दल तथा धार्मिक बन्धनका साँघुरा घेरा तोडेर माथि उठ्न सक्छु पर्छ ।’
छोटो उमेरमा तामाङले धेरै अनुभव हासिल गर्न सफल हुनु भएको छ । उहाँले यो पंक्तिकारसँग गर्वका साथ भन्नुभयो, ‘केही वर्ष पहिलेको जङ्गल बिस्तारै अब उर्वर भूमिमा परिणत भएको छ ।’ उहाँका अनुसार साक्षर, कर्मशील, दक्ष ईमान्दार नागरिक(जनशक्ति)उत्पादनबाट मात्रै समाज परिवर्तन र विकास सम्भव छ । उत्पादन, आन्तरिक पर्यटन प्रवर्धन, रोजगारी सिर्जना गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर उहाँ भन्नुहुन्छ ।
भारतीय सेनामा जानु अघि अस्थायी शिक्षक :
भारतीय सेनामा जानु अघि आदर्श प्रा.वि.मा अस्थायी शिक्षण पेशा समेत गर्नु भएका उहाँ यतिबेला समाजमा सामाजिक कार्यकर्ताका रुपमा समेत पहिचान बनाउन सफल हुनु भएको छ । सुन्दरबजार नगरपालिका– ७ को बरेटारस्थित आदर्शबाल माविको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । आफ्नो गाउँमा विभिन्न निर्माण उपभोक्ता समितिको अध्यक्ष भएर कार्य सम्पन्न गरी अनुभव हासिल गर्नु भएको उहाँ नेपाल आदिवासी जनजाति महासंघ सुन्दरबजार नगर समन्वय समितिको अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश कार्य समितिको मुख्य सचिव हुनुहुन्छ भने वन उपभोक्ता बचत तथा ऋण सहकारी लि.को सदस्य रहनु भएको छ ।
कुनैबेला नेकपा (एकीकृत समाजवादी)को जिल्ला सदस्य समेत रहेका उहाँ यतिबेला भने कुनै पनि राजनीतिक दलमा नरहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘राजनीति गर्ने रहर अब बाँकी छैन ।’
उहाँका अनुसार शिक्षित हुनुपर्छ, निरन्तर कर्मशील ईमान्दार भएर उत्पादन र आत्मनिर्भर बन्नु पर्छ, विदेश भुमिमा दुःख गरि कमाएको रेमिटेन्स रकम अनुत्पादक विलासिता, फजुल खर्च हैन उत्पादन र रोजगार सिर्जनामा लगानी गर्न आग्रह अनुरोध गर्दछु ।
तामाङले अर्गानिक खानाप्रेमी सबैलाई आफ्नो फार्म स्टेमा एकपटक भ्रमण गर्न आग्रह गर्दै अर्गानिक जीवनशैली अपनाउन, आफूलाई उत्प्रेरित गरी उर्जा दिन अपिल गर्नु भएको छ ।
