
काठमाडौं, जेठ २
नेपाल चिनी उत्पादक संघले मुलुकमा चिनीको मौज्दात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव नहुने र मूल्य समेत नबढ्ने स्पष्ट पारेको छ । छिमेकी मुलुक भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा पर्न सक्ने सम्भावित असरबारे प्रष्टीकरण दिँदै संघले शुक्रबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो ।
संघका अनुसार चालु क्रसिङ सिजनमा देशभित्रका १३ वटा चिनी उद्योग सञ्चालनमा आई कुल १ लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन भएको छ । उत्पादित चिनीमध्ये हालसम्म नगन्य मात्रा मात्र बिक्री भएकाले १ लाख ८ हजार मेट्रिक टन चिनी अझै उद्योगहरूमै मौज्दात छ ।
यस्तो छ चिनीको वर्तमान उपलब्धता र आपूर्ति अवस्था:
उद्योगहरूमा मौज्दात: १ लाख ८ हजार मेट्रिक टन
व्यवसायीहरूसँग अनुमानित मौज्दात: २० हजार मेट्रिक टन
चालु आर्थिक वर्षमा भएको वैधानिक आयात: ६० देखि ७० हजार मेट्रिक टन
संघले खुला सीमाका कारण अनौपचारिक माध्यमबाट हुने चिनी आयातको पूर्ण अभिलेख नहुने भए तापनि, हाल उपलब्ध मौज्दातले आगामी क्रसिङ सिजनसम्म नेपाललाई पर्याप्त मात्रामा चिनी पुग्ने दाबी गरेको छ ।
‘स्वदेशमा पर्याप्त मौज्दात रहेकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेखनीय मूल्यवृद्धि हुने छैन,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा आपूर्ति र उपलब्धतामा कुनै कमी नहुने आश्वासन दिँदै संघले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र उपभोक्ता तथा सरोकारवालाहरूलाई अनावश्यक भण्डारण (होर्डिङ) नगर्न समेत अनुरोध गरेको छ ।
