२०८० बैशाख ३१,
दोलखा । आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले बताए।

आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो। सकारात्मक छलफल भएको छ। संसद्को बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारीका लागि समझदारी गर्दै अगाडि बढ्ने विषयमा टिकाटिपनी भयो,’ मुख्य सचेतक पाण्डेले भने, ‘संसद्‍का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपण सम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनु पर्नेछ, संसदीय सुनुवाइ समिति समेत गठन भइसकेको छैन। संसद् सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी भएका थिए।