आइतबार (आज)देखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता प्रमाणपत्र वितरण सुरु हुने भएको छ।

गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेसँगै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्न जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको हो।

७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न परिपत्र पठाएको गृह मन्त्तालयले जनाएको छ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ।

गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन्।

नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने छन्।