बुधबार, १७ असोज २०८०, दोलखा। दोलखाबाट बरामद भएको सुनको परिक्षण भएको छ ।
जिल्लाबाट बरामद गरी काठमाडौँ सुन चाँदी व्यवसाय संघ, क्षेत्रपाटी काठमाण्डौमा पठाएर धातु परिक्षण गर्दा ११ किलो पहेँलो वस्तु सुन नैै भएको पुष्टि भएको हो। आजको बजार मूल्य अनुसार सो सुनको मूल्य १० करोड १९ लाख ५७ हजार ७ सय ८० रुपैया हुन आउँछ। दोलखा प्रहरीले यो प्रकरणमा पहिलो पटक असोज १० गते जिल्लाको विगु गाउँपालिका–३ जामुनेस्थित सिता तामाङको घरबाट ४ किलो र १२ गते ३ किलो तथा १४ गते चार किलो गरी ११ किलो सुन बरामद गरेको थियो।
सो प्रकरणमा हालसम्म चिनियाँ नागरिक सहित १० जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले आज एक चिनियाँ नागरिक सहित तीन जनालाई पक्राउ गरेसँगै गत असोज १० गतेदेखि हालसम्मको अवधिमा पक्राउ पर्नेको संख्या १० पुगेको हो।
सिआईबीले आज तासी भन्ने चिनियाँ नागरिक ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ बर्षीय सनत प्रधानलाई पक्राउ गरेको हो। उनीहरु स्वयम्भूबाट पक्राउ परेका हुन्। यसअघि ७ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा बिगु गाउँपालिका १ का ३० वर्षिय चसमान तामाङ, विगु १ कै राज तामाङ, विगु गाउँपालिका–१ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका १९ वर्षीय पेम्बा तामाङ, लामाबगरको गोंगरका २० वर्षीय माधव मगर, बिगु गाउँपालिका–१ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन्।
पक्राउ परेकाहरुलाई हिरासतमा राखी आठ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए। दोलखा सुन प्रकरणमा सीआइबीले समेत अनुसन्धान गरिरहेको छ।
