गण्डकी प्रदेशमा पाँच दिनसम्म मनाइने राष्ट्रिय पुस्तकालय दिवस


कृष्ण बुढाथोकी

सोमबार, ०४ भदौ २०८०, दोलखा । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्य सहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ। यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रम सहित दिवस मनाउने तयारीमा रहेका छन्।

विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको हो। दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिएका हुन्।

उनका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइ सहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ। १२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको हो।

सोही दिन पुस्तकालयको बाल कक्षामा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताए । १३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थासँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ।

१४ गते लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिएका थिए। भदौ १५ गते पुरस्कार वितरण सहित मूल समारोह आयोजना गरिएको उनको भनाइ छ।

हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ, सचिव शर्माले भने, यो वर्ष पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी कार्यक्रम तय गरिएको हो।

राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ। धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ।

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन्।

पुस्तकालयमा विद्युतीय पुस्तकालय इ–लाइब्रेरी पनि सञ्चालित छ। प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ। यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य छन्।

सम्बन्धित खबर