धरानमा कर्फ्यु, जातीय र धार्मिक द्धन्द्ध बढ्ने खतरापछि


कृष्ण बुढाथोकी

शनिबार, ०९ भदौ २०८०, दोलखा । धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन पहल थालिएको छ।

विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नको लागि पहल गरेका हुन्। स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हिजो निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेका हुन्।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले आज प्रदर्शनको आह्वान गरेका छन्। तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ। धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा, मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरिएको छ। धरानमा कृयाशील १३ वटा राजनीतिक दलले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैसँग आग्रह गरेका छन्। उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न आग्रह गरेका छन्।

दलहरुले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगर्न अनुरोध गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी लगायत दलका नेताहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पनि सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गरे । पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै उनले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गरे। मेयर साङपाङले सबैजना संयमित र संवेदनशील भएर सबै समुदाय र सबै नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न मेयर राईले धरानवासीलाई अपिल गरेका छन्।

सम्बन्धित खबर