केही कथाहरू सकिएपछि सकिँदैनन्। अन्तिम दृश्य सकिन्छ, क्रेडिट चल्छ, स्क्रिन बन्द हुन्छ; तर कथा भने मनभित्र कतै चुपचाप चलिरहन्छ। ‘मुसाफिर क्याफे’ त्यस्तै कथा हो। २०२६ को यो हिन्दी वेब सिरिजलाई केवल प्रेमकथा भनेर हेर्नु सायद यसको सबैभन्दा सुन्दर पक्ष छुटाउनु हो। चन्दर, सुधा र प्रितीको यात्रामार्फत सिरिजले प्रेमसँगै एउटा अर्को कठिन प्रश्न सोध्छ – हामी वास्तवमा जीवनमा के खोजिरहेका छौँ?

प्रेम? सफलता? आफ्नो मान्छे? शान्ति? कि आफूले वर्षौँदेखि थन्क्याएर राखेको त्यो ‘आफ्नो जीवन’?

सायद यही कारणले ‘मुसाफिर क्याफे’ हेर्दा कतिपय ठाउँमा चन्दरको जीवन हेरेजस्तो लाग्दैन, आफ्नै जीवनको कुनै पुरानो पाना पल्टाएजस्तो लाग्छ।

सबै यात्रा गन्तव्यसम्म पुग्नका लागि हुँदैनन् !

हामी जीवनलाई प्रायः एउटा दौडजस्तो बनाउँछौँ: पढाइ सक्नुपर्छ, जागिर पाउनुपर्छ, करियर बनाउनुपर्छ, पैसा कमाउनुपर्छ, घर बनाउनुपर्छ, विवाह गर्नुपर्छ, अनि अर्को कुनै ठूलो उपलब्धिको पछि लाग्नुपर्छ! तर कहिलेकाहीँ मनले सोध्छ:

“यति सबै गरेपछि, हामी पुग्छौँ चाहिँ कहाँ ?
‘मुसाफिर क्याफे’ यही प्रश्नको वरिपरि घुम्छ।चन्दर, सुधा र प्रितीका सम्बन्धहरूमा प्रेम छ, तर प्रेम मात्र छैन। त्यहाँ अपेक्षा छन्, अधुरा सपना छन्, विगतका निर्णयहरू छन्, मनभित्र थन्किएका प्रश्नहरू छन् र आफूले रोजेको बाटोप्रतिको द्विविधा पनि छ। कहिलेकाहीँ दुई मानिसबीचको दूरी किलोमिटरले होइन, उनीहरूले जीवनलाई बुझ्ने तरिकाले तय गर्छ।कल्पना गर्नुस्, कुनै शान्त साँझमा चन्दर र सुधाबीच यस्तो संवाद भइरहेको छ:

तिमीलाई चाहिएको के हो?
थाहा छैन!

त्यसो भए यत्रो टाढा किन आयौ?
सुधा केहीबेर चुप लाग्छिन्, सायद आफूलाई थाहा नभएको कुरा खोज्न।

यही ‘थाहा छैन’ नै सिरिजको सबैभन्दा इमानदार भाव हो।

किनकि जीवनका सबैभन्दा महत्वपूर्ण निर्णयहरू हामीले स्पष्ट उत्तर पाएपछि मात्र लिएका हुँदैनौँ। कतिपय निर्णय त केवल एउटा बेचैनीका कारण लिइन्छन्; ‘अब यसरी बस्न सक्दिनँ’ भन्ने अनुभूतिले।

प्रेम कहिलेकाहीँ साथ होइन, ऐना पनि हो

‘मुसाफिर क्याफे’ को प्रेमलाई केवल रोमान्सको रूपमा बुझ्नु अपूर्ण हुन्छ।यहाँ प्रेमले मानिसलाई अर्को मानिससँग जोड्ने मात्र होइन, आफूसँग पनि परिचित गराउने काम गर्छ।कसैलाई प्रेम गर्नु भनेको उसको साथ पाउनु मात्र होइन। कहिलेकाहीँ उसलाई गुमाउने डर, उसलाई बुझ्न नसक्नु, उसको स्वतन्त्रतालाई स्वीकार गर्न नसक्नु र अन्ततः आफ्नै कमजोरी देख्नु पनि प्रेमकै हिस्सा हुन्छ।हामीले धेरैपटक प्रेममा अर्को व्यक्तिलाई खोजिरहेका हुन्छौँ। तर वास्तविक प्रश्न सायद यस्तो हुन्छ:

“म तिमीलाई किन चाहन्छु?”

किनकि ऊ मेरो एक्लोपनाको औषधि हो?
किनकि उसले मेरो अधुरोपन पूरा गर्छ?
कि म ऊसँग हुँदा म आफैँलाई अलि बढी चिन्न सक्छु?

सिरिजका पात्रहरूले यी प्रश्नहरूको उत्तर सधैँ शब्दमा दिँदैनन्। उनीहरूका मौनता, निर्णय र दूरीले धेरै कुरा भनिरहेका हुन्छन्, र यही मौनतामा कथा बढी वास्तविक लाग्छ।

मुसुरी: एउटा ठाउँ होइन, एउटा मनस्थिति

‘मुसाफिर क्याफे’को सबैभन्दा सुन्दर पात्र सम्भवतः चन्दर, सुधा वा प्रिती मात्र होइनन्। मुसुरी स्वयं पनि एउटा पात्र हो।

पहाडको चिसो हावा, कुहिरो, साँघुरा बाटा, पुराना घर, क्याफेका झ्यालबाट देखिने हरियाली र शहरको तुलनामा अलि सुस्त गतिमा बग्ने दिनहरू – यी सबैले कथालाई एउटा फरक मनोविज्ञान दिन्छन्।

मुसुरीमा मानिस केवल ठाउँ परिवर्तन गरेर पुगेको हुँदैन। ऊ आफ्नो गति परिवर्तन गरेर पुगेको हुन्छ। मुम्बईमा जीवनको गति अर्कै छ। अवसर, प्रतिस्पर्धा, महत्वाकांक्षा र निरन्तर अगाडि बढ्नुपर्ने दबाब।भोपालको आफ्नै सामाजिक र भावनात्मक संसार छ; जहाँ विगत, परिवार, सम्बन्ध र सम्झनाहरूको आफ्नै वजन छ, तर मुसुरीमा पुगेपछि समय अलि फरक महसुस हुन्छ।त्यहाँ बिहान चाँडो उठेर कुनै ठूलो लक्ष्य पूरा गर्नुपर्ने हतार हुँदैन। कहिलेकाहीँ झ्याल खोलेर कुहिरो हेर्नु पनि दिनको पर्याप्त कामजस्तो लाग्छ।सायद यही कारणले मुसुरी सिरिजमा भाग्ने ठाउँ होइन, रोकिएर हेर्ने ठाउँ बन्छ। आफ्नो जीवनलाई बाहिरबाट हेर्ने ठाउँ।कहिलेकाहीँ हामीलाई नयाँ उत्तर होइन, पुरानो प्रश्नलाई शान्त भएर फेरि हेर्ने ठाउँ चाहिन्छ।

सफलताको अर्को परिभाषा पनि हुन सक्छ

हाम्रो पुस्ताले सफलता निकै सजिलै परिभाषित गरिदिएको छ: राम्रो जागिर,ठूलो शहर, राम्रो आम्दानी, ठूलो घर, राम्रो पद, तर ‘मुसाफिर क्याफे’ले एउटा सानो तर महत्वपूर्ण प्रश्न उठाउँछ:

यदि यी सबै पाएपछि पनि मन शान्त छैन भने?

सायद सफलताको अर्को परिभाषा पनि हुन सक्छ: बिहान आफूले मन पराएको काम गर्न पाउनु, दिउँसो कसैसँग लामो कुरा गर्न पाउनु, साँझ पहाडतिर हेरेर चिया पिउन पाउनु, आफ्नो अधुरो किताब पूरा गर्न पाउनु, कुनै क्याफेको कुनामा बसेर संगीत सुन्न पाउनु, वा केही समयका लागि कुनै उपलब्धि नखोजी केवल आफू भएर बस्न पाउनु।

हामीले ‘productive’ नभएको समयलाई प्रायः खेर गएको समय ठान्छौँ। तर कहिलेकाहीँ केही नगरेर आफूलाई सुन्नु पनि जीवनको महत्वपूर्ण काम हो।

अधुरा सपनाहरूको पनि आफ्नै समय हुन्छ

मानिसको जीवनमा केही सपना यस्ता हुन्छन्, जसलाई हामी मार्दैनौँ: केवल थन्क्याउँछौँ: कुनै दिन गर्छु, समय भएपछि।अहिले करियरमा ध्यान दिनुपर्छ।अहिले परिवारको जिम्मेवारी छ, र त्यो ‘कुनै दिन’ कहिले आउँछ, हामीलाई थाहा हुँदैन।

‘मुसाफिर क्याफे’का पात्रहरूले बोकेको भावनात्मक भारको एउटा हिस्सा यही हो- हामीले आफ्नो जीवनका कुन सपनाहरू आफैँसँग लुकाएर राखेका छौँ, कहिलेकाहीँ एउटा नयाँ ठाउँमा पुग्दा हामी नयाँ मानिस होइन, आफूभित्रको पुरानो मानिस भेट्छौँ। त्यही मान्छे, जसले कुनै समय केही बन्ने सपना देखेको थियो।

र त्यसपछि प्रश्न नेपालतिर फर्किन्छ

सिरिज हेर्दै गर्दा एउटा प्रश्न बारम्बार मनमा आयो। यदि मुसुरी एउटा कथामा प्रेम, आत्मखोज, शान्ति र ढिलो जीवनको प्रतीक बन्न सक्छ भने- नेपालका पहाडहरू किन नसक्ने?

हामीसँग काठमाडौं छ: – अवसरको शहर, महत्वाकांक्षाको शहर, भागदौडको शहर।

तर काठमाडौं बाहिर निस्किएपछि केही घण्टामै संसार बदलिन्छ।

बन्दीपुर, नगरकोट, धुलिखेल, तानसेन, पोखरा, र यीभन्दा बाहिर अझै धेरै नामहरू छन्, जहाँ पहाड, बादल, पुराना बस्ती, स्थानीय जीवन र प्रकृतिले मानिसलाई अलि बिस्तारै बाँच्न सिकाउन सक्छन्, तर प्रश्न केवल पर्यटनको होइन। हामीले पहाडलाई घुम्ने ठाउँ मात्र बनाउने कि बस्ने, सिर्जना गर्ने र आफूलाई भेट्ने ठाउँ पनि बनाउने?

किन नेपालका पहाडी सहरहरूमा यस्ता क्याफेहरू नहुन सक्छन्, जहाँ पर्यटक मात्र होइन, लेखक, संगीतकार, प्रोग्रामर, फोटोग्राफर, विद्यार्थी वा कुनै साधारण मानिस केही दिन बसेर आफ्नो काम गर्न सकोस्?

किन साना पुस्तकालय, स्वतन्त्र पुस्तक पसल, कला प्रदर्शनी, स्थानीय संगीतका साँझ, लेखनका लागि शान्त ठाउँ, डिजिटल नोमाडका लागि काम गर्ने स्पेस र स्थानीय खानासँग जोडिएका सामुदायिक अनुभवहरू विकास गर्न नसकिने?

हामीलाई सधैँ तारे होटल चाहिँदैन, कहिलेकाहीँ एउटा राम्रो झ्याल, एउटा आरामदायी कुर्सी, राम्रो कफी, एउटा किताब र बाहिर देखिने पहाड नै पर्याप्त हुन्छ।

मुसुरी र नेपालका पहाड: तुलना होइन, सम्भावना हो

मुसुरीको आफ्नै इतिहास, संस्कृति र पर्यटनको विकास छ। नेपालका पहाडी गन्तव्यहरूको आफ्नै चरित्र छ।त्यसैले नेपालले मुसुरीको नक्कल गर्नुपर्ने होइन।नेपालले आफ्नै मुसाफिर क्याफेहरू खोज्नुपर्ने हो। बन्दीपुरसँग पुरानो नेवारी वास्तुकला र पहाडी बस्तीको सौन्दर्य छ। तानसेनसँग इतिहास, संस्कृति र शान्त पहाडी जीवनको आफ्नै स्वाद छ।धुलिखेलसँग काठमाडौं नजिकै भएर पनि शहरबाट केही कदम टाढा पुग्न सकिने सुविधा छ।नगरकोटसँग आकाश र हिमाल हेर्ने आफ्नै आकर्षण छ।पोखरासँग ताल, हिमाल, साहसिक पर्यटन र लामो समयदेखि विकसित हुँदै आएको पर्यटन संस्कृति छ।

तर सम्भावना यतिमै सकिँदैन, नेपालमा अझै धेरै यस्ता ठाउँ छन्, जहाँ पर्यटनको ठूलो भीड पुगिसकेको छैन। जहाँ स्थानीय समुदाय, प्रकृति र पुरानो जीवनशैली अझै बलियो छ। यदि सोचेर विकास गरियो भने यी ठाउँहरू boutique stays, independent cafés, bookstores, art spaces, co-working retreats, writing residencies, music spaces र community-led tourism का लागि उत्कृष्ट आधार बन्न सक्छन्। त्यसका लागि पहाडलाई कंक्रिटले ढाक्नुपर्ने छैन।

बरु पहाडको पहाडपन जोगाउनुपर्छ, स्थानीय वास्तुकला बचाउनुपर्छ, स्थानीय खाना, भाषा, कला र समुदायलाई पर्यटनको केन्द्रमा राख्नुपर्छ, प्रकृतिलाई सजावट होइन, मुख्य सम्पत्ति मान्नुपर्छ, किनकि:

कुनै ठाउँको सुन्दरता त्यहाँ बनेका भवनको उचाइले मात्र तय हुँदैन, त्यहाँ पुगेपछि मानिसले आफूलाई कस्तो महसुस गर्छ भन्ने कुराले पनि तय गर्छ!

सायद हामीलाई ‘मुसाफिर’ हुनैपर्छ

‘मुसाफिर’ भनेको यात्री, तर यात्रु हुनु भनेको एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन।कहिलेकाहीँ जीवनमा हामी आफैँबाट धेरै टाढा पुगिसकेका हुन्छौँ।कामको पछि लाग्दा, जिम्मेवारीको पछि लाग्दा, सम्बन्ध जोगाउने क्रमम,। अरूको अपेक्षा पूरा गर्ने क्रममा। त्यसपछि कुनै दिन एउटा यात्रा चाहिन्छ, धेरै टाढाको होइन।

सायद काठमाडौंको भीडबाट धुलिखेलसम्म।
सायद पोखराको कुनै शान्त गल्लीसम्म।
सायद बन्दीपुरको पुरानो घरसम्म।
वा सायद आफ्नै कोठाको झ्यालसम्म।जहाँ केहीबेर बसेर आफैँलाई सोध्न सकियोस्:

“म कहाँ जाँदैछु?”

अझ महत्वपूर्ण:

“म जहाँ जाँदैछु, के त्यो वास्तवमै मेरो लागि हो?”

‘मुसाफिर क्याफे’को सबैभन्दा ठूलो उपलब्धि यही प्रश्नलाई दर्शकको मनमा छोड्नु हो। कथाले सबै उत्तर दिँदैन, सायद दिनु पनि हुँदैन, किनकि प्रेमको अन्तिम उत्तर हुँदैन, उद्देश्यको पनि हुँदैन, शान्तिको पनि हुँदैन। हामी यात्रामा रहँदै यी कुराहरू बुझ्दै जान्छौँ।

कहिले कसैलाई भेटेर।
कहिले कसैलाई गुमाएर।
कहिले कुनै सपना पूरा गरेर।
कहिले कुनै सपना अधुरै छोडेर।
कहिले आफूले रोजेको बाटोमा पछुताएर।
र कहिले एउटा सानो पहाडी क्याफेमा बसेर बाहिरको कुहिरो हेर्दै।

अन्ततः सायद जीवन आफैँ एउटा मुसाफिर क्याफे हो – जहाँ कोही केही समयका लागि आउँछ, केही सम्बन्ध बनाउँछ, केही सम्झना छोड्छ, केही कुरा सिक्छ र फेरि आफ्नो यात्रामा निस्कन्छ।

प्रेम, उद्देश्य, पीडा, निर्णय, सफलता, असफलता र शान्ति – यी सबै कुनै अन्तिम गन्तव्य होइनन्। यी त यात्राका बीचमा भेटिने ठाउँहरू हुन्। त्यसैले, मुसुरीले मानिसलाई आफूभित्र फर्किने ठाउँ दिन सक्छ भने प्रश्न अझै उही रहन्छ:

“यदि मुसुरीले मानिसलाई आफूभित्र फर्किने ठाउँ दिन सक्छ भने, नेपालका पहाडहरूले किन नसक्ने?”

सायद अब हामीले पहाडमा केवल होटल र रिसोर्ट होइन, मानिसले आफूलाई फेरि भेट्न सक्ने ठाउँहरू पनि बनाउनुपर्छ।

किनकि संसार जति छिटो दौडिरहेको छ, त्यति नै मानिसलाई कुनै यस्तो ठाउँको आवश्यकता बढ्दैछ जहाँ उसलाई केही समयका लागि दौडिनु नपरोस्, जहाँ ऊ बस्न सकोस्, सास फेर्न सकोस्, सोच्न सकोस्, र सायद – फेरि आफूलाई भेट्न सकोस्।