प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा रहेको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले नाै महिनामा २१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

कान्तिपुरले सन् २०२२ मा ३७ करोड ३८ लाख रुपैयाँ व्यापार गरेको थियो।

२०२१ मा कान्तिपुर टेलिभिजनले ३२ करोड ४० लाख, २०२० मा ३१ करोड २० लाख र २०१९ मा ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

आर्थिक गतिविधिमा आएको शिथिलताले कान्तिपुर टेलिभिजनको विज्ञापनबाट हुने आम्दानी २५ प्रतिशत घटेको छ। कूल आम्दानीमा ३ ग्राहरूको योगदान ६९ प्रतिशत छ। २०२२ मा यस्तो हिस्सा ७२ प्रतिशत हिस्सा थियो।

टेलिभिजनले इक्रा नेपाल लिमिटेडबाट इक्रा एनपिआइआर बि प्लस रेटिङ पाएको छ।

कान्तिपुर टेलिभिजन नेपालको अगुवा टिभी च्यानल हो। कान्तिपुर ग्रुपअन्तर्ग कान्तिपुर दैनिक, दि काठमाण्डु पोष्ट र कान्तिपुर रेडियो सञ्चालनमा छन्। सन् २००१ मा स्थापना भएको टेलिभिजन सन् २००३ देखि सञ्चालनमा आएको हो। आइपिओ निष्कासन गर्न कान्तिपुर टेलिभिजन २०२१ को जुलाइमा कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको छ।

कान्तिपुर टेलिभिजनमा ११ जना संस्थापक लगानीकर्ता छन्। जसमा प्रबन्ध निर्देशक कैलाश सिरोहियाको २९ प्रतिशत हिस्सा छ।