२०८० जेष्ठ २५, विहिबार
दोलखा । तामाकोशी गाउँपालिकाका अधिकांश जनप्रतिनिधि र कर्मचारी तालिमका लागि भन्दै नगरकोट घुम्न गएपछि पालिकाले दिने सेवा केही दिन देखि करिब ठप्प जस्तै हुन गएको छ ।

गाउँपालिकासँगको साँझेदारीमा हेफर प्रोजेक्टले सञ्चालन गरेको ‘तामाकोशी कृषि तथा पशु व्यवसाय प्रबर्द्धन कार्यक्रम’ तालिममा सहभागि हुन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न शाखाका प्रमुखहरु नगरकोट गए पछि सेवा ग्राहीहरुले सेवा लिन सकिराखेका छैन्न ।

१५ दिन अगाडि योजनाको काम सकेर भुक्तानी लिन पटक पटक गाउँपालिका आउँदा प्रमुख प्रशासकीय अधिकृत नै नभेटिए पछि सास्ती खेप्नुपरेको भन्दै वडा नम्बर–६ स्थित घोरनागी पोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष आनन्द फुयाँलले आक्रोस व्यक्त गर्नु भएको छ ।

“प्रमुख प्रशासकीय अधिकृत कहिले काठमाण्डौं, कहिले के कार्यक्रम, कहिले के तालिम भन्दै पालिकामा नबसे पछि हामीले कती दुःख पाउने हो, बिदा बस्दा पनि कति बस्ने भन्ने नियम त होला नि ” फुयाँलले प्रश्न गर्नु भयो ।

त्यसैगरी योजनाको भुक्तानीका लागि फाईल बोकेर बुधबार गाउँपालिका आउनु भएका वडा नम्बर–४ को जगत अम्बिका मन्दिर संरक्षण उपभोक्ता समिति सचिव दुर्गा कुमार खड्काले पनि भुक्तानी दिने कर्मचारी नभेटेपछि रित्तो हात फर्कनु परेको गुनासो छ ।

एकातिर आर्थिक बर्षको अन्तिम हुनै लाग्दा योजना सम्पन्न गरेर भुक्तानीका लागि पालिकाले समेत ताकेता गर्नु पर्नेमा काम सम्पन्न गरेर आएका उपभोक्ताहरु समेत रित्तो हात फर्कनु पर्दा पालिका प्रशासन कति हदसम्म गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । अर्कातिर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि पालिकामै आयोजना गर्न सकिने तालिम नगरकोट लैजानुले ‘ नयाँ स्थान पनि हेरिने, मुख पनि फेरिने’ भन्ने चरित्रले यहाँ सेवा ग्राहीले दुख पाएको कस्ले सुनिदिने अन्यौलमा छ ।

हिजो बुधबार देखि नगरकोटमा सुरु भएको तीन दिने आधारशीला तालिममा पालिका अध्यक्ष प्रोणप्रताप केसी, उपाध्यक्ष सीर्जना सुवेदी, प्रमुख प्रशासकीय अधिकृत बद्री शर्मा वाग्ले, इन्जिनियर राजकिशोर यादव, कृषि अधिकृत विदुर प्रसाद तिमल्सिना, सूचना प्रविधि अधिकृत पवनराज फुयाँल, पशु विकास शाखा प्रमुख लिला बहादुर केसीको सहभागि थियो । त्यसैगरी वडा अध्यक्षहरु सहित कतिपय कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरु पनि तालिममा सहभागि हुने भन्दै नगरकोट पुगेर घुमघाम गरेका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट भएका प्रस्टै भेटिन्छ । देशको आर्थिक चपेटालाई ख्याल नगरि पालिकाको पैसामा परियोजनाको नाममा रजाँई, तालिमको नाममा पालिका माथि नै खर्चको बोझ हुन त कस्ले प्रश्न गर्ने आफै धामि आपैm जैशी भए पछि । पालिकाको स्थर उन्नतिका नाममा विभिन्न स्थानमा कार्ययोजना तयार पार्दै आफ्ना व्यक्तिगत स्र्वाथ पुरा गर्नेहरुका लागि त नियम पनि छैन ।

गाउँपालिकासँगको साँझेदारीमा हेफर प्रोजेक्टले ‘तामाकोशी कृषि तथा पशु व्यवसाय प्रबर्द्धन कार्यक्रम’ सन् २०२३ को जनावरी २४ देखि २०२४ को जुन ३० तारिखसम्म सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ । करिब डेढ बर्षको अवधिमा झण्डै चार करोड अर्थात ३ करोड ९४ लाख ७५ हजार ६ सय ७१ रुपैयाँ खर्च हुनेछ । जसमध्ये ७५ प्रतिशत अर्थात २ करोड ९३ लाख ७० हजार गाउँपालिकाले व्यहोर्नु पर्नेछ भने २५ प्रतिशत अर्थात १ करोड १ लाख ५ हजार ६ सय ७१ हेफर प्रोजेक्टले व्यहोर्ने खुलेको छ ।

परियोजनाले चालु आर्थिक बर्ष भित्र एक करोड रुपैयाँ पालिकाले व्यहोर्न भनेको भए पनि रकम अभाव भन्दै गाउँपालिकाले कृषिमा २५ लाख र पशुमा २५ लाख गरी जम्मा ५० दिने तयारी गरेको छ । लेखा प्रमुख रामकुमार कार्कीका अनुसार पालिकाले हालसम्म ५० लाखको २० प्रतिशत हुन आउने १० लाख रुपैयाँ रकम पेश्की स्वरुप परियोजनालाई उपलब्ध गराइ सकेको छ ।