३२ जेष्ठ २०८०, विहिबार,
दोलखा । गर्मीयाम सुरु भए लगत्तै मुलुक भर गाई भैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापक रूपमा फैलि रहेको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखा परेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरिसकेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित अवस्थामा छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ । यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ

यस रोगको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको अनुमान छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न अझै कठिनाइ भइ रहेको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।

लम्पी स्किन रोग लागेपछि देखिने असर

यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ । यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्गडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।
यो रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठ वरिपरि सफा राख्ने लगायतका विषयमा ध्यान पुर्याउनु पर्नेछ ।

नेपालमा कहिले भित्रियो यो रोग

नेपालमा विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलो पटक देखापरेको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको पशु सेवा विभागबाट तथ्य बाहिर आएको थियो ।

लक्षण देखा परे पश्चात् उक्त गाईहरूबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साल साउन ११ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो । यसरी रोग पुष्टि भए पछि सो रोगको सूचना विश्व पशु स्वास्थ्य सङ्गठनमा पशु स्वास्थ्य सूचना प्रणाली मार्फत गरेको थियो ।