सोमबार, ११ असार २०८०
दोलखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने जानकारी दिएका छन् । हिजो आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकार अनुसार सबै नेपालीलाई नागरिकता दिने उल्लेख गरे सगै संविधानअनुसार नागरिकताको हक प्राप्त नेपाली नागरिकहरूलाई यथाशीघ्र नागरिकताको प्रमाणपत्र दिने, नागरिकताको हक दिने र नागरिकताको दुरुपयोग र अवमूल्यनलाई कडाइपूर्वक नियन्त्रण गर्ने सरकारको नीति रहेको बताएका छन ।

उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, संविधान प्रदत्त मौलिक हकहरूको निर्बाध प्रयोग सहित स्वतन्त्र नागरिक जिन्दगी पाउने स्थितिको प्रत्याभूति गर्ने, भष्टाचारको प्रभावकारी नियन्त्रण सहित सुशासनको स्थापना गर्ने, विपद् जोखिमको न्यूनीकरण तथा व्यवस्थापन गर्ने सरकारले नीति लिएको जानकारी दिएका छन । साथै राष्ट्रिय परिचयपत्रको अभियानात्मक वितरण र त्यसबाट हुने अन्य क्षेत्रहरूको सेवालाई समेत सहज बनाउने, लागू औषध रोकथाम गर्ने, महिला हिंसा हुन नदिने र त्यसमा संलग्न पीडकहरूमाथि कडा भन्दा कडा कारबाही गर्ने, दलित माथिको विभेदलाई कडाइका साथ नियन्त्रण गर्ने र विभेद गर्नेलाई कडाइका साथ कारबाही गर्ने उल्लेख गरे ।