पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तो व्यवस्था गरेको जनाएको छ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ। यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने बताएको छ।

दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्षले जानकारी दिए। ‘वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘जनसंख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसंख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै छन्।’