कोहलपुरमा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न


onlinebulletin

बाँके — कोहलपुरमा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको आयोजनामा र ज्ञान बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा वरिष्ठ प्रहरी नायव निरीक्षक प्रविण आचार्यले प्रशिक्षकका रूपमा प्रशिक्षण प्रदान गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेक बहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रममा नगर युवा सञ्जाल अध्यक्ष रमेश वर, ब्राइट इनटेक एजुकेशन कोहलपुरका प्रबन्ध निर्देशक बामदेव पोख्रेल तथा भोलेन्टियर सोसाइटी अफ बाँकेका कार्यक्रम संयोजक दिनेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम ज्ञान बहुमुखी क्याम्पसमा अध्ययनरत शिक्षा शास्त्र र व्यवस्थापन संकायका ११० जना विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रमका मुख्य उद्देश्यहरूमा ट्राफिक नियमहरूको महत्त्व बुझाउने, सवारी दुर्घटनाका कारण तथा न्यूनीकरणका उपायहरूबारे जानकारी दिने र जनचेतना अभिवृद्धि गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्ने रहेको थियो ।

प्रशिक्षणको क्रममा सहभागीहरूलाई ट्राफिक संकेतहरूको महत्व, गति सीमा भित्र सवारी सञ्चालन गर्ने तरिका र सडक पार गर्ने उचित तरिकासमेत जानकारी दिइएको थियो । साथै, दुर्घटनाको प्रमुख कारणहरू—जस्तै तिब्र गति, मादक पदार्थ सेवन र ट्राफिक नियमको उल्लंघन बारे सचेत गराउँदै न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरियो ।

कार्यक्रमले सवारी साधन चलाउँदा सतर्कता, नियमित परीक्षण, सार्वजनिक सचेतना अभिवृद्धि र सामुदायिक सहभागिताका उपायहरूलाई प्राथमिकता दिइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गरिरहेको छ । यस प्रकारका सचेतनामूलक प्रयासहरूले सवारी दुर्घटनामा कमी ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रमको अन्त्यमा नागरिकहरूलाई ट्राफिक प्रहरीद्वारा निम्न अनुरोधहरू गरिएको थियो:

  • सवारी चढ्दा/ओर्लदा अरुलाई नधकेल्न,
  • तीव्र गतिमा सवारी नचलाउन आग्रह नगर्न,
  • मादक पदार्थ सेवन गर्ने चालकलाई सवारी चलाउन नदिन,
  • सवारीमा असभ्य व्यवहार नगर्न,
  • छत वा सवारीको पछाडिबाट यात्रा नगर्न,
  • ट्राफिक नियमको सम्मान गर्न।

कार्यक्रममा विभिन्न सन्देशमूलक ट्राफिक नाराहरू पनि प्रस्तुत गरिए:

  • मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं
  • तिव्र गति, जीवन क्षति
  • सडकमा ट्राफिक नियमको पालना गरौं
  • सवारी चालकले सीट बेल्टको प्रयोग गरौं
  • ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौं

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै, सहभागी विद्यार्थीहरूले सुरक्षित यातायातका लागि ट्राफिक नियम पालनाको महत्वलाई गहिरो रूपमा बुझेको प्रतिक्रिया दिएका छन् । यस्ता कार्यक्रमले भविष्यमा दुर्घटनाको जोखिम न्यून पार्दै नागरिक जीवनको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर