अर्थमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ समकक्षी लिउ कुनसँग भेट गरेका छन्।

भारतको गुजरात राज्यको गान्धीनगरमा जारी जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता भएको हो।

द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरे। एक अर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारे पनि दुवै मन्त्रीको समान धारणा रह्यो।

मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरे। सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री महतले स्मरण गरे। कोभिड-१९ का कारण समयमा उक्त प्रतिबद्धता अगाडि बढ्न नसकेको भन्दै उनले अब चाँडै अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीनबीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको लागि महत्वपूर्ण क्षेत्र हुन सक्ने बताए। दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने उनले विश्वास व्यक्त गरे।

सुरुङ मार्गको प्रसंगमा उनले टोखा-छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे।

चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विस्वास व्यक्त गरे।