मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३६.१९ अंक घटेर २१६४.३१ विन्दुमा झरेको छ।
आइतबार मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमबारदेखि घट्न थालेको हो।
आज सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग तथा विकास बैंक उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।
