सोमबार, २९ साउन २०८०, दोलखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरे।
आज सोमबार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किएका नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन। नेपालले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताए।
अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर, पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाएका छन।
नेपालले आफू गोली हान्न लाग्दा समेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने साथै आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने र जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताएका छन।
अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम युके लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए। तर, साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो।
सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रम अनुसार विदेश भ्रमणमा भएको बताएका थिए।
