आइतबार, ३१ भदौ २०८०, दोलखा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन्।

अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे। शनिबार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए।

त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताएका थिए। बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको ओलीको भनाई थियो। ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताए।

अध्यक्ष ओलीले आफूले नेपाल विरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकि रहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नु पर्ने र आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीति कर्मीको रुपमा बुझि दिन पनि आग्रह गरे।

कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने बताएका थिए। आलीले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुशी भएको प्रतिक्रिया दिएका थिए।