विहीबार, ०४ असोज २०८०, दोलखा। रामेछाप प्रहरीले भदौ महिनाभर विभिन्न अपराधिक घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ।

रामेछाप प्रहरीले कर्तव्य ज्यान, सुन गरगहना तथा नगद चोरी, मोबाइल चोरी, पशु चोरी जस्ता विभिन्न घटनामा संलग्न १२ जनालाई पक्राउ गरेको हो। जसमा सुन, गरगहना तथा नगद चोरी गर्ने ८ जना पक्राउ परेका छन्। कतव्र्य ज्यानमा एक जना, खसी चोरीमा दुई जना र मोबाइल चोरीमा एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

कर्तव्य ज्यान मुद्धामा पक्राउ पर्नेमा लिखुतामाकोशी गाउँपालिका–४ कोटगाउका ४१ वर्षिय बिरवहादुर तामाङ रहेका छन्। गत भदौ ६ गते सोही स्थानमा बस्ने ४५ वर्षिया एकल महिला सरिता तामाङ आफ्नै घरको शौचालय अगाडी आँगनमा घोप्टो परी निधारमा चोट लागी मृत अवस्थामा फेला परेकी थिइन्। सोही घटनाको अनुषन्धानको क्रममा भदौ २७ गते विरबहादुर पक्राउ परेका हुन्। पक्राउ परेकाहरुलाई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुषन्धान भैरहेको छ।

सुन चोरीका घटना बढ्यो

यस्तै, सुन, गरगरहना तथा नगद चारी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–६ की चुनमाया श्रेष्ठ, सोही स्थानकी माया श्रेष्ठ, अनिता श्रेष्ठ, युवराज श्रेष्ठ, प्रकाश श्रेष्ठ र मिना श्रेष्ठ तथा गोकुलगंगा गाउँपालिका–४ बेतालीका ३६ वर्षिय जित बहादुर गजमेर रहेका छन्। गत भदौ ५ गते राती करिब १० बजेको समयमा उमाकुण्ड गाउँपालिका–६ का टंकराज श्रेष्ठको घरमा कोही नभएको बेलामा ढोका फोडी बाक्सामा रहेको सुनको तिलहरी, मंगल सुत्र औंठी र नगद तिन लाख रुपँैया चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई चोरिएको सामान सहित पक्राउ गरेको थियो।

सुन तथा नगद चोरी गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–४ का सलिन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। तामाङले गत असार २६ गते राती करिब साढे २ बजेको समयमा लिखु तामाकोशी गाउँपालिका–५ मुल्मेटोलका हर्क बहादुर तामाङको घरमा उनकी श्रीमती सञ्जा तामाङ सुतिरहेको अवस्थामा जवरजस्ती हातमुख थुनी हातमा लगाएको सुनको औंठी, कानमा लगाएको दुई तोलाको सुन र सिरानी मुनी राखेको नगद १० हजार रुपैया चोरी गरी फरार भएका थिए। उनलाई भदौ १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोटरसाईकल चढेर खसी चोरी

यसैगरी, मोबाईल चोरी गरेको आरोपमा गोकुलगंगा गाउँपालिका–६ फर्पुका २४ वर्षिय हिरालाल तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले छितौनी खोलामा निर्माणाधिन गोकुलगंगा बिल्डर्स कम्पनीको साईडमा पुलमा काम गर्ने समिर तामाङको चार्जमा राखेको मोबाईल चोरी गरी फरार भएका थिए। प्रहरीले उनको साथवाट चार थान मोवाईल पनि बरामद गरेको छ। रामेछापमा खसी चोरीको घटना पनि भएको छ। खसी चोरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मन्थली नगरपालिका १३ बस्ने २६ वर्षीय दीपक कार्की र सोही स्थानका ३० वर्षिय रमेश अधिकारी रहेका छन्। उनीहरुले गत भदौ २३ गते मन्थली नगरपालिका–१३ खालडाँडाका मोहन बहादुर खड्काले पालेको खसी चराउन लगेको बेलामा चोरी गरेका थिए। मन्थलीकै जामुनेकी ललितामाया अधिकारीको पनि खसी चोरी भएको थियो।

दुवै चोरीका घटनामा कार्की र अधिकारीको संलग्नता पुष्टि भएको रामेछाप प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट चोरी गर्दा प्रयोग भएको मोटरसाईकल पनि बरामद गरेको छ।