आइतबार, ०७ असोज २०८०, दोलखा। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन्। ओखलढुङ्गाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘यति नालायक सरकार पनि राख्ने हो, यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ, ओलीले भने, यो सरकारले जनता हेर्दैन। जता पनि सुन मात्रै हेर्छ। ब्रेक(सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन।
उनले सरकारलाई सुन तस्करी देख्यौ, भनेर सोध्दा अर्को तिर फर्किएर देखिनँ भन्ने गरेको बताए।
अहिले काँग्रेस पार्टी बिचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो। काँग्रेस त के पार्टी छ भन्नु र, ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन।
सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न नसकेको र सदन चलाउन नसकेको उनले बताए।
उनले प्रधानमन्त्री विदेश भ्रमणमा हुँदा किन सदन नचलाएको भन्दै प्रश्न गरे। के प्रधानमन्त्री भ्रमणमा हुँदा सदन चलाउनु मिल्दैन, ओलीको प्रश्न थियो।
