विहीबार, ११ असोज २०८०, दोलखा। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा धेरैपछि गत सोमबार इजलासमा सुनुवाइ सुरु भयो। खाजा समयपछि सुरु भएको सुनुवाइमा समय अभाव भएपछि सोमबार बहस सकिएन र मंगलबारका लागि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखियो।

४३ पटक तारेख र ३८ पटक पेसीमा चढेपछि असोज ८ गते सोमबारबाट काठमाडौँ जिल्ला अदालतमा उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर टुङ्ग्याउने तयारी थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा चलाउनेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो। उक्त मुद्दाको सुनुवाइ मंगलबार नै वा ढिलोमा बुधबार सकिएर फैसला आउने अपेक्षा गरिएको थियो।

त्यसो त मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएर छिटो टुङ्ग्याउन भनेपछि सरकार र विपक्षी नै भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। सोमबारकै सुनुवाइका क्रममा उक्त भ्याकेट निवेदन सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेको भनेर प्रतिवादीतर्फका वकिलले जिकिर लिए पनि न्यायाधीश सिलुवालले भ्याकेटमा गएकै कारण सुनुवाइ गर्न समस्या नहुने भन्दै सोमबार उक्त मुद्दाको सुनुवाइ गरेका थिए।

मंगलबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको उक्त मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै मंगलबार पनि प्रतिवादीतर्फका वकिलहरुले बखेडा झिके। पीडित उपप्राध्यापक प्रेम चलाउनेको तर्फबाट बहसका लागि पनि उत्तिकै सङ्ख्यामा वरिष्ठ अधिवक्ता र अधिवक्ता उपस्थित भएका थिए। तर भ्याकेटमा गए पनि सुनुवाइमा असर नपर्ने भन्दै सुनुवाइ अघि बढाएर सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको उक्त मुद्दामा मंगलबार घाउचोट फारममा हस्ताक्षर गर्ने डाक्टरको बकपत्र नभएको भन्दै विशेषज्ञ बुझ्ने आदेश गरेर न्यायाधीश पन्छिएका छन्।

२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा ३ वर्ष पूरा हुन लाग्दा पनि अझै फैसला हुने गरी सुनुवाइ हुन सकेको छैन। राजनीतिक दबाब लगायतका कारणले उक्त मुद्दामा ढिलाइ भइरहेको छ।