आइतबार, १४ असोज २०८०, दोलखा। १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित भएको छ।
देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सोझो सेटमा हराएको हो।
पहिलो सेटमा भियतनामले ७ अंक जोडेपछि मात्र नेपालले पहिलो अंक जोडेको थियो। दोस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि भियतनामलाई रोक्न सकेन। तेस्रो सेटमा नेपालले सुरुमै लगातार ३ अंक जोड्दै अग्रता लिएपनि लय कायम राख्न सकेन।
त्यसपछि भियतनामले लगातार ७ अंक जोड्दै नेपाललाई पछि पारेको थियो। पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनाम विरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो।
नेपाली महिला टोलीले खेलेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो।
