मङ्गलबार, ०८ साउन २०८१, काठमाडौँ । काठमाडौँ महानगरपालिका र स्थानीय बिच न्यूरोड लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माण सम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ।
सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो।सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन्।
काठमाडौँ महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जन सहितको टोली बिच छलफल भएको छ।
इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर समितिले मंसिर २ गते प्रतिवेदन बुझाउने छ। उक्त प्रतिवेदनको सुझावको आधारमा त्यसपछि थप कार्य अघि बढाउने सहमति भएको महानगरका प्रवक्ता मानन्धरले बताएए ।
न्यूरोडमा काठमाडौँ महानगरले गरिरहेको फुटपाथ विस्तार विरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीन काजी महर्जन सहित स्थानीयले विरोध गर्दै आएका थिए।
