मंगलबार, ३० साउन २०८०, दोलखा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै शैया निःशुल्क हुने भएको छ।

मुख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा वाग्मती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक बिरामीहरुको लागि सबै बेड निःशुल्क गर्न लागिएको हो। ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अन्य सबै शैया निःशुल्क गरिनेछ। प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८ सय ११ शैया निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। मन्त्रालयका आयुर्वेद चिकित्सक डा। रविन भुषालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनिएको छ।

जिल्ला अस्पतालहरुबाट न्यूनतम २५ रुपियाँदेखि पाँच सय रुपैयाँसम्म प्रति शैयाका बिरामीहरुले रकम तिर्दै आएकोमा भदौबाट निःशुल्क हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवम् प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए।