बुधबार, ०९ साउन २०८१, काठमाडौँ। काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ। साउन १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो।
नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाब छ ।
पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ ?
मुखबाट खुवाइने खोप, ओरल पोलियो भ्याक्सिन ( ३ पटक ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
सुईबाट दिइने खोप, इनएक्टीभेटेड पोलियो भ्याक्सिन ( २ पटक १४ हप्ता र ९ महिनाको उमेरमा )
पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ?
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ। तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन्। त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ।
यस खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनु पर्दछ।
